विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विनोद ढकालले भावुक पत्रमार्फत मतदातालाई सन्देश पठाएका छन् ।
एमाले नेता ढकालले पत्रमा आफ्नो व्यक्तिगत जीवनको गहिरो पीडा र चुनावी प्रतिबद्धताको मिश्रण प्रस्तुत गर्दै मतदाताको साथमा आफ्नो अटुट सम्बन्ध रहेको विषय व्यक्त गरेका हुन् । ढकालले पत्रमा लेखेका छन्, ‘म पितृ शोकमा छु । बुवाको देहावसानले अपूरणीय क्षति पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएकाले म तपाईंहरूको घरदैलोमा हुँदा बुवाको निधन भयो । आज उहाँको आत्माको अनन्त यात्राको कामनाका लागि हाम्रो संस्कार अनुसारको कर्ममा छु । शरीर यहाँ छ, तर मेरो मन तपाईं मतदातासँगै छ ।’
वर्तमान परिस्थितिमा प्रत्यक्ष रूपमा मतदातासँग भेट्न कठिन भए पनि पार्टी कमिटीले घरदैलो अभियान निरन्तर जारी राखिरहेको उनले उल्लेख गरेका छन् । ढकालको भावुक सन्देशसहितको पत्र एमाले नेता कार्यकर्ताले मतदाताको घरदैलोमा पुर्याइरहेका छन् । ढकाल चुनावी अभियानमा सक्रिय रहेकै बेला उनका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको गत बिहीबार निधन भएको थियो ।
त्यसपछि उनी बुवाको किरियाका लागि कोरामा बसेका छन् । ढकालले मतदातासँग आफ्नो नजिकको सम्बन्ध र विश्वासको महत्व औंल्याउँदै भनेका छन्, ‘म अभिभावक विहीन भए पनि आज मेरो आत्मबल बढाउने तपाईंहरू हुनुहुन्छ । तपाईंहरू नै मेरो अभिभावक, मेरो साहस र शक्ति हुनुहुन्छ । यस घडीमा तपाईंहरूको साथ मलाई र तपाईंहरूको दुःखमा मेरो साथ रहनुपर्छ ।’
ढकालले आफ्ना बुवाबाट पाएको शिक्षालाई सम्झिँदै भावुकताका साथ लेखेका छन्, ‘समाजसेवा गर्नमा कहिल्यै नथाक्नु है । यो मेरो शिक्षा हो र आजको घडीमा मेरो परीक्षा पनि हो । अब बुवाले दिनु भएको शिक्षालाई सिद्ध गर्ने बेला आएको छ ।’ उनले आफू कहिल्यै पनि जनसरोकारका विषयबाट पछि नहट्ने सन्देश दिँदै सधैं जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
उनले मतदातालाई भरोसा दिलाउँदै भनेका छन्, ‘मेरी उम्मेदवारी केवल पदका लागि होइन । तपाईंहरूको सेवाका लागि हो । त्यसैले ढुक्क भएर फागुन २१ मा सूर्य चिन्हमा मतदान गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’ ढकालले आफ्नो पत्रमा भावनात्मक अपिल गर्दै मतदातासँगको निरन्तर सम्बन्ध र प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘म ढुक्क छु तपाईंको साथका लागि, अनि तपाईंहरु ढुक्क हुनुहोस् मेरो प्रतिबद्धताका लागि ।’ ढकालको पत्रले चुनावी अभियानसँगै व्यक्तिगत जीवन र समाजसेवाको गहिरो अन्तरदृष्टि पनि उजागर गरेको एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरी (नवीन)ले बताए ।
गिरीका अनुसार चुनाव जित्ने उद्देश्यभन्दा आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको निरन्तर सेवामा रहने प्रतिबद्धता ढकालको प्रमुख मुद्दा हो । उक्त पत्रले मतदातामा नजिकको विश्वास र भावनात्मक सम्बन्ध स्थापित गर्ने वातावरण सिर्जना गरेको उनले बताए । ढकालको भावुक पत्रलाई एमालेका नेता कार्यकर्ता र शुभचिन्तकले चुनावी अभियानमार्फत मतदाताको घरघरमा पुर्याइरहेका छन् ।
पिताको वियोग बेहोरिरहेका ढकाललाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिन निकाल्नैपर्ने दबाब पनि छ । ढकाल हिन्दु संस्कारअनुसार सेतो वस्त्रमा १३ दिने काजकिरियाका लागि कोरामा छन् । घरभित्र धार्मिक विधिमा व्यस्त रहँदा बाहिर चुनावी मैदानमा एमालेका नेता कार्यकर्ता तथा पार्टी कमिटीमा आबद्ध भएकाहरु भोट मागेर ढकालको पक्षमा माहोल बनाउँदै हिँडिरहेका छन् ।
उनकै छोरीहरुले पनि ढकालको रिक्तता साहसका साथ पुर्ने प्रयास गरिरहेका छन् । छोरीहरुसँगै एमालेका नेता कार्यकर्ताहरु ढकालका लागि घरदैलो, प्रचारप्रसार, मतदाता भेटघाटलगायतका अभियानमा व्यस्त छन् ।
कोराभित्रबाटै ढकालले भिडियो सन्देश जारी गर्दै भनेका थिए, ‘म शारीरिक रूपमा तपाईंहरूको माझमा आउन नसके पनि मेरो मन तपाईंहरूसँगै छ ।’ ढकालले बुवाको निधनपछि कोरामा बसेकै अवस्थामा आफ्ना ३० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।
विराटनगर–५ सम्झना चोकस्थित निवासबाट क्षेत्रगत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षासम्म समेटिएको विस्तृत योजना आइतबार बाहिर ल्याइएको थियो । मोरङ–६ मा ढकालसँगै नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, रास्वपाबाट रुविना आचार्य, नेकपाबाट ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।