नेपाली बजारमा आज (बुधबार) पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। पछिल्ला केही दिनदेखि ओरालो लागेको सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला तीन लाख चार सय रूपैयाँ निर्धारण गरिएको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रूपैयाँले घटेको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। मंगलबार प्रतितोला चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारतर्फ भने सुनको मूल्य प्रतिऔंस चार हजार नौ सय ३४ अमेरिकी डलर कायम रहेको जनाइएको छ।