जनकपुरमा कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गर्ने निर्णय

नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको पार्टीको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गर्न लागिएको प्रतिज्ञा पत्र पारित गरेको जनाइएको छ। उक्त प्रतिज्ञा पत्र पार्टीले आज जनकपुरधाम मा आयोजना हुने सभामार्फत औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित केन्द्रीय तहका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम रहेको छ।

कांग्रेसले जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभालाई राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको जनाएको छ। पार्टीका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव का अनुसार मधेस आन्दोलनपछि कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि बढाउँदै आएको छ।