काभ्रेपलाञ्चोकको बनेपा बजार क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा एक स्कुटर चालकको ज्यान गएको छ। बनेपास्थित दूरसञ्चार कार्यालय नजिक भएको दुर्घटनामा बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिप्परले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार टिप्परको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते भएका थिए। दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई उद्धार गर्ने प्रयास गरिएको भए पनि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकको पहिचान हालसम्म खुल्न नसकेको र पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सिर मेमोरियल अस्पताल पठाइएको छ।
दुर्घटनापछि घटनास्थलमा स्थानीय बासिन्दा आक्रोशित बनेका थिए। आक्रोशित समूहले टिप्परमा आगजनी गरेका कारण केही समय स्थिति तनावपूर्ण बनेको थियो। आगलागीबाट टिप्परमा क्षति पुगेको बताइएको छ। दुर्घटनापछि टिप्पर चालक भने फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले सवारी साधनको तीव्र गति तथा ट्राफिक व्यवस्थापनको कमजोरीका कारण पटक–पटक दुर्घटना हुने गरेको गुनासो गरेका छन्। घटनापछि विरोध प्रदर्शनसमेत भएको र सो क्रममा बनेपा क्षेत्रको यातायात आवागमन केही समय अवरुद्ध भएको थियो।
स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको थियो। हाल अवस्था नियन्त्रणमा आएको जनाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।