सलमान खानका पिता सलीम खानको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो

मुम्बई । बलिउड अभिनेता सलमान खानका पिता तथा चर्चित पटकथा लेखक सलीम खानको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ।

उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि ९० वर्षीय खानलाई मंगलबार बिहान लीलावती अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकीय परीक्षणका क्रममा उनको मस्तिष्कमा रगत जमेको तथा रक्तस्राव भएको पाइएको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार उनलाई मंगलबार बिहान करिब साढे ८ बजे आपत्कालीन कक्षमा ल्याइएको थियो। हाल न्युरोलोजिस्ट र कार्डियोलोजिस्टसहितको विशेषज्ञ चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको निगरानी गर्दै उपचार गरिरहेको छ। परिवारको सहमतिपछि उनको स्वास्थ्य अवस्थाबारे औपचारिक मेडिकल बुलेटिन सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ।

पिताको स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता सलमान खान सुटिङ छाडेर अस्पताल पुगेका छन्। यस्तै, सञ्जय दत्त, जावेद अख्तर तथा अरबाज खान समेत अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सलीम खानले सन् १९६० को दशकमा अभिनयबाट फिल्मी यात्रा सुरु गरेका थिए। पछि उनी लेखन क्षेत्रमा स्थापित हुँदै जावेद अख्तरसँगको सहकार्यमा ‘सलीम–जावेद’ जोडीका रूपमा चर्चित बने। उक्त जोडीले शोले, जञ्जीर, दीवारडन जस्ता सफल फिल्महरूको कथा लेख्दै भारतीय चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए।