निर्वाचनमा कांग्रेसको बहुमत आउने दाबी, प्रधानमन्त्री बन्ने गगन थापाको घोषणा

बिराटनगर।  नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत हासिल गर्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेस सरकार गठन गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरे। उनले पार्टीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको उल्लेख गर्दै निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी समेत गरे।

थापाले भने, “निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ, सरकार बनाउँछ। पार्टीले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ, म प्रधानमन्त्री बन्छु।”उनले आगामी निर्वाचनलाई देशको राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारको दिशामा निर्णायक अवसरको रूपमा लिनुपर्ने बताए। कांग्रेसले जनतासामु प्रस्तुत गरेको प्रतिज्ञापत्रमार्फत विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले कांग्रेसको योजना, प्रतिज्ञापत्र र आगामी राजनीतिक रणनीतिबारे प्रश्न उठाएका थिए भने सभापति थापाले ती प्रश्नहरूको जवाफ दिएका थिए।