बिराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशलाई राजनीतिक नेताहरूको ‘पार्किङ लट’ बनाउने प्रवृत्तिको अन्त्य गर्ने घोषणा गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा उनले पुराना दल र नेतृत्वप्रति कडा टिप्पणी गर्दै कर्णाली अब प्रयोगशाला वा नेताहरू थन्क्याउने ठाउँ बन्न नदिने चेतावनी दिए। प्रदेश संरचना खारेज गर्ने नभई सुधार गर्ने पक्षमा रहेको स्पष्ट पार्दै उनले भने, “प्रदेश चाहिँ चाहिन्छ, तर बेढङ्गको होइन—ढङ्गको प्रदेश चाहिन्छ। कर्णाली अब नेता थन्काउने ठाउँ हुँदैन।”
लामिछानेले आगामी निर्वाचनलाई देशको राजनीतिक दिशा बदल्ने निर्णायक क्षणको रूपमा व्याख्या गर्दै चुनावमार्फत नै परिवर्तन सम्भव हुने बताए। चुनावले निकास नदिने भन्ने धारणा अस्वीकार गर्दै उनले चुनौतीपूर्ण शैलीमा भने, “निकास चुनावले नदिने हो भने के आन्दोलनले दिन्छ ? रोडबाट आउनु छ भने रोडबाट आउनुस्, भोटबाट आउनु छ भने भोटबाट—हामी परिवर्तन भोटबाटै चाहन्छौँ, रगत बगाएर होइन।”
कालिकोटमा अस्पताल स्थापना गर्दाको अनुभव स्मरण गर्दै उनले कर्णालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरे। कर्णालीलाई दशकौँदेखि पछाडि पारिएको आरोप लगाउँदै अब विकास र अवसरको केन्द्र बनाउने प्रतिबद्धता दोहोर्याए।
लोकतन्त्र संकटमा परेको भनाइप्रति व्यङ्ग्य गर्दै उनले सत्ता र शक्तिको राजनीति गर्नेहरूमाथि कटाक्ष गरे। “लोकतन्त्रलाई खतरा तब हुन्छ, जब हेलिकप्टर फेरि सिंहदरबार वा बालुवाटारमा ल्यान्ड हुन्छ,” उनले भने। सभापति लामिछानेले रास्वपालाई पाँच वर्षको स्पष्ट बहुमत दिन मतदातासँग आग्रह गर्दै असफल भए राजनीतिक रूपमा आफूहरूलाई अस्वीकार गर्न खुला चुनौती समेत दिए। “पाँच वर्ष काम गर्न दिनुस्, सकेनौँ भने अर्को चुनावमा घण्टी बजाएर बिदा गरिदिनुस्,” उनले भने।
पुराना दलप्रति लक्षित टिप्पणी गर्दै उनले नयाँ पुस्ताको नेतृत्वले जोखिम लिन सक्ने दाबी गरे। युवा, महिला, दलित र जनजातिको प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरी स्थिर सरकार बनाउन अपिल गरेका थिए।