विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सीमा नाका ७२ घण्टाका लागि बन्द गर्ने सहमति भएको छ ।
भारतसँग सीमा जोडिएका कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ सुनसरी र ती जिल्लासँग जोडिएका भारतको किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा प्रमुखको बैठकले मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति भएको हो ।
बैठकको सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द हुनेछ । नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिनेछ ।
बैठकमा नेपाली पक्षले भारतीय सुरक्षा निकालयलाई निर्वाचन प्रचारप्रसारका लागि भारतीय सवारीको प्रवेश रोक्नका लागि पनि सहयोग मागेको मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
सुरक्षा र प्रशासनिक निकायको संयुक्त बैठकमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने सहमति पनि भएको छ ।
बैठकमा तेस्रो मुलुकका नागरिकको अनाधिकृत प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्राको कारोबार, हातहतियार तथा अवैध नगद तस्करी जस्ता सीमापार अपराध नियन्त्रण गर्ने प्रतिबद्धता सहमति भएको मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।