विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत मतदाता सचेतना फैलाउने उद्देश्यसहित टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ ।
युवापुस्तालाई निर्वाचन प्रक्रियामा जोड्ने र डिजिटल माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित आयोगले ‘टिकटक भिडियो प्रतियोगिता’ अघि सारेको हो । आयोगका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेले निर्वाचनको महत्व, मत हाल्ने सही तरिका, मतदाताको अधिकार र कर्तव्य, उम्मेदवार छनोटका आधार वा निर्वाचन आचारसंहिताजस्ता विषय समेटेर अधिकतम एक मिनेटको मौलिक भिडियो तयार गर्नुपर्नेछ ।
भिडियो संवादमूलक, सन्देशप्रधान र आफ्नै मौलिक अडियो तथा अभिनयमा आधारित हुनुपर्ने स्पष्ट सर्त राखिएको छ । प्रतियोगितामा प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज प्राप्त गर्ने र सन्देशका दृष्टिले प्रभावकारी ठहरिने तीन उत्कृष्ट भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । भिडियोको गुणस्तर, प्रस्तुति, अभिनय, मौलिकता र समाजमा पार्ने प्रभावलाई छनोटको मुख्य आधार बनाइने आयोगले जनाएको छ ।
सहभागीले आफ्नो भिडियो टिकटकसहित अन्य सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिंक आगामी फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमा पठाउनुपर्नेछ । एक व्यक्तिले एउटै विषयमा एउटा मात्र भिडियो पठाउन पाउने व्यवस्था गरिएको छ ।
आयोगले उत्कृष्ट ठहरिएका भिडियोहरू आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पुनः प्रसारण गर्ने तयारीसमेत गरेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई निर्वाचन शिक्षा र सचेतनासँग जोड्ने प्रयासस्वरूप ल्याइएको यो अभियानले युवाहरूको सक्रियता बढाउने अपेक्षा आयोगको छ ।