विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि मतदाता शिक्षा कार्यक्रममा पालिकाले सहजीकरण र समन्वय बढाएका छन् । निर्वाचन आयोगले गएको ३ गतेदेखि देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ ।
ती स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट मतदान प्रक्रियाबारे जानकारी दिइरहेका छन् । उनीहरुलाई पालिकाले सहजीकरण गरेका हुन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका, महोत्तरीको मटिहानी नगरपालिका र नुवाकोटको शिवपुरी गाउँपालिकालगायत पालिकाका प्रमुखहरूले आयोगको निर्देशनबमोजिम कार्यक्रम सञ्चालन भइरहेको र शान्तिपूर्ण चुनावका लागि समन्वय गरिरहेको बताएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी मतदाता शिक्षाले बदर मतको अनुपात घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सबै पालिका, राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमलाई सहयोगका लागि आग्रह गर्नुभएको छ ।