काठमाडौं । फागुन महिना सुरु भएसँगै मौसम परिवर्तन हुने समय आएको छ। जाडो घट्दै र गर्मी बढ्न थालेपछि विशेषगरी बच्चा र वृद्धहरूमा स्वास्थ्य समस्या देखिने जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। यस्तो समयमा सही खानपान र जीवनशैली अपनाए शरीरलाई स्वस्थ, बलियो र रोगबाट सुरक्षित राख्न सकिने विज्ञहरूको सुझाव छ। स्वास्थ्यकर्मीका अनुसार मौसम परिवर्तनका बेला रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले पोषणयुक्त खाना र मौसमी फलफूल खानु अत्यन्त आवश्यक हुन्छ। विशेषगरी बच्चा र वृद्धहरूलाई सन्तुलित भोजन दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। बच्चाहरूको शारीरिक तथा मानसिक विकासका लागि प्रोटिन, भिटामिन र मिनरलयुक्त खाना आवश्यक हुन्छ। दूध, दही, अण्डा, दाल, गेडागुडी तथा हरियो सागसब्जी नियमित रूपमा खान दिन चिकित्सकले सुझाव दिएका छन्। फलफूलमध्ये केरा, सुन्तला, अम्बा, मेवा र स्याउ बच्चाका लागि निकै लाभदायक मानिन्छ। यी फलफूलले शरीरलाई ऊर्जा दिनुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ।
उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुने भएकाले वृद्धहरूले हल्का र सजिलै पच्ने खाना खानु उपयुक्त हुन्छ। तातो झोल, सुप, दलिया, ओट्स, फापर तथा नरम तरकारी स्वास्थ्यका लागि राम्रो मानिन्छ। मेवा, केरा, अनार र सुन्तला जस्ता फलफूलले पाचन सुधार गर्नुका साथै रक्तचाप नियन्त्रणमा समेत सहयोग पुर्याउँछन्। फागुन महिनालाई हावाहुरीको मौसम पनि मानिन्छ। यस समयमा धुलो, हावा र अचानक मौसम परिवर्तनका कारण रुघाखोकी, एलर्जी तथा आँखा र छालासम्बन्धी समस्या बढ्ने सम्भावना हुन्छ। स्वास्थ्य विज्ञहरूले हावाहुरी चल्दा सकेसम्म घरभित्र बस्न, बाहिर निस्कँदा मास्क वा रुमाल प्रयोग गर्न तथा आँखा जोगाउन चस्मा लगाउन सुझाव दिएका छन्। साथै धुलोबाट बच्न घरका झ्यालढोका आवश्यकताअनुसार बन्द राख्ने, प्रशस्त पानी पिउने र बाहिरबाट आएपछि हातमुख राम्रोसँग धुने बानीले संक्रमणको जोखिम कम गर्न मद्दत गर्ने बताइएको छ।विशेषगरी बच्चा र वृद्धहरूलाई हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको सल्लाह लिन समेत आग्रह गरिएको छ।