काठमाडौँ । विश्व सामाजिक न्याय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। समाजमा विद्यमान असमानता, विभेद, गरिबी, बेरोजगारी तथा सामाजिक बहिष्करण न्यूनीकरण गर्ने उद्देश्यका साथ यो दिवस प्रत्येक वर्ष फेब्रुअरी २० मा मनाइने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००७ नोभेम्बर २६ मा पारित गरेको प्रस्तावअनुसार सन् २००९ देखि विश्व सामाजिक न्याय दिवस मनाउन थालिएको हो। यस दिवसले सबै व्यक्तिलाई समान अवसर, अधिकार र सम्मान सुनिश्चित गर्दै न्यायपूर्ण समाज निर्माणको आवश्यकता औँल्याउने लक्ष्य राखेको छ।
सामाजिक न्यायको अवधारणाले जाति, लिङ्ग, धर्म, वर्ण, अपाङ्गता वा सामाजिक तथा आर्थिक अवस्थाका आधारमा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य हुने मान्यता स्थापित गर्दछ। यसले हरेक नागरिकलाई समान अधिकार, अवसर र मर्यादित जीवनयापनको सुनिश्चितता गर्न राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने सन्देश दिन्छ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार निष्पक्षता, समानता तथा व्यक्तिले आफ्नो जीवनको दिशा स्वतन्त्र रूपमा निर्धारण गर्न पाउने अधिकार नै सामाजिक न्यायको आधारभूत तत्व हो। सामाजिक न्यायलाई शान्ति, स्थायित्व र दिगो विकासको प्रमुख आधारका रूपमा लिइए पनि विश्वका धेरै मानिस अझै पनि गरिबी, शोषण, विभेद र अवसरको अभावबाट प्रभावित भइरहेका छन्।
यस दिवसले सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रलाई समावेशी नीति निर्माण र कार्यान्वयनमार्फत न्यायपूर्ण समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दछ।
नेपालमा पनि सामाजिक न्याय र समावेशी विकासलाई राज्यको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा राखिएको छ। नेपाल सरकार, प्रदेश तथा स्थानीय तहसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले महिला, बालबालिका, युवा, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार, वातावरणीय संरक्षण र समान अवसर सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
विशेषज्ञहरूका अनुसार दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सामाजिक न्याय, समावेशिता र समान पहुँच सुनिश्चित गर्नु अपरिहार्य छ। यस दिवसले न्याय, समानता र मर्यादित जीवन सुनिश्चित गर्न सरकारदेखि नागरिक तहसम्म सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश पुनः स्मरण गराएको छ।