जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा बिहीबार भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका एक निर्वाचन प्रहरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। दुर्घटनामा गम्भीर घाइते हिमा गाउँपालिका–२ निवासी २१ वर्षीय धमेन्द्र रोकायालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर गाउँपालिका–४ का ७० वर्षीय रत्न शाहीलाई पनि सोही हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ। सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार अन्य घाइतेहरू तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ की २१ वर्षीया माया नेपाली, तिला गाउँपालिका–२ का २१ वर्षीय पारस रावत, तातोपानी गाउँपालिका–३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी गाउँपालिका–२ निवासी जिप चालक लोकेश खड्का तथा निर्वाचन प्रहरी तिला–२ का टेकेन्द्र रावत रहेका छन्। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।