त्रिभुवन विमानस्थलका ६ पसल कारबाहीमा, मूल्य हेरफेरमा दुईलाई लाखौं जरिवाना

विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ६ वटा पसललाई अनियमित व्यापारिक क्रियाकलापका कारण कारबाही गरेको छ।

मंगलबार गरिएको नियमित अनुगमनका क्रममा विभागको टोलीले २ वटा पसललाई मूल्य हेरफेर गरेको आरोपमा ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटा पसललाई आवश्यक कागजातसहित विभागमा हाजिर हुन निर्देशन दिएको छ।

विभागका निरीक्षण अधिकृत अमितकुमार झाले दिएको जानकारी अनुसार, ईजि ट्रेडलाई २ लाख ६० हजार रुपैयाँ र एयरपोर्ट टी एण्ड कफी शपलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

उनका अनुसार, “यस पटक एमआरपीभन्दा बढी मूल्य लिएको पाइएन। तर, उत्पादन स्थलमै ‘फर एयरपोर्ट सेल’ भन्दै एमआरपी नै बढी राखिएको देखियो। हामी अहिले एमआरपी घोषणापछि बढी-घटी मूल्यमा ध्यान दिइरहेका छैनौं।”

त्यस्तै, विमानस्थलमा रहेका अन्य ४ वटा व्यापारिक फर्मलाई व्यवसाय सम्बन्धी आवश्यक कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यता, ललितपुरको मनमय इन्टरप्राइजेजलाई उत्पादनमा रिलेबलिङ, गुणस्तर, परिमाण तथा मूल्यमा हेरफेर गरेको पाइएपछि २ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

एक इलेक्ट्रोनिक पसललाई भने सामान्य निर्देशन दिई छाडिएको जनाइएको छ।

विभागले उपभोक्ता ठग्ने प्रवृत्तिलाई रोक्न अनुगमनलाई निरन्तरता दिइने बताएको छ।