उडानअघि जहाजमा तेल चुहावट देखिएपछि बुद्ध एयरको मेन्टिनेन्स प्रक्रियामाथि चासो

सिमरा । सिमराबाट काठमाडौंका लागि उडान भर्न तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रद्द गरिएको छ। जहाजबाट इन्धन चुहिएको अवस्था यात्रुले देखेपछि सम्भावित दुर्घटना टरेको बताइएको छ। बाराको सिमरा विमानस्थलबाट काठमाडौं उड्न लागेको 9N-AIT कलसाइनको जहाजको देब्रेतर्फको पंखा नजिकबाट इन्धन चुहिएको पाइएको थियो। यात्रुहरू जहाजमा चढिसकेको अवस्थामा तेल चुहावट देखिएपछि उडान तत्काल स्थगित गरिएको हो। प्रत्यक्षदर्शी यात्रुहरूका अनुसार जहाज उडानको अन्तिम तयारीमा रहेका बेला इन्धन चुहिरहेको देखेपछि कर्मचारीलाई जानकारी गराइएको थियो। त्यसपछि उडान रद्द गर्दै जहाजभित्र रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। जहाज चढ्ने तयारीमा रहेका अन्य यात्रुलाई पनि विमानस्थलबाट फर्काइएको छ।

एयरलाइन्सले प्रभावित यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं पठाउने तयारी गरेको जनाएको छ। हाल उक्त जहाज सिमरा विमानस्थलमै पार्किङ गरी प्राविधिक टोलीले समस्या सम्बन्धी विस्तृत जाँच सुरु गरेको छ। उडानअघि गरिएको प्राविधिक परीक्षणपछि समेत इन्धन चुहावट तत्काल पहिचान हुन नसकेको विषयलाई लिएर मर्मतसम्भार तथा प्राविधिक निगरानी प्रक्रियामाथि प्रश्न उठेको छ। घटनापछि यात्रुहरूले ठूलो दुर्घटनाबाट जोगिएको अनुभव सुनाउँदै उडान सुरक्षाप्रति थप सतर्कता आवश्यक रहेको बताएका छन्।