अर्नमा गाउँपालिकामा शंकास्पद मृत्यु : मृतककी श्रीमतीसहित दुई जना पक्राउ

विराटनगर । सप्तरीको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान स्थानीय ३५ वर्षीय अजय महराको शव छिमेकीको खेत नजिकै रहेको आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा फेला परेको थियो। घटना शंकास्पद देखिएपछि प्रहरीले तत्कालै अनुसन्धान थाल्दै मृतककी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटना रहस्यमय देखिएको र शव परीक्षण रिपोर्टपछि घटनाको थप विवरण खुल्ने बताए। महराको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

पक्राउ परेका दुवै व्यक्तिबाट घटनासम्बन्धी प्रारम्भिक बयान लिइँदैछ। प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।