मातृभाषाको सम्मानको दिन : अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी २१ मा मनाइने यो दिवस भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण, मातृभाषाको प्रवर्द्धन तथा बहुभाषिक शिक्षाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ। यो दिवस संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था ग्ल्भ्क्ऋइले सन् १९९९ मा घोषणा गरेको हो भने सन् २००० देखि विश्वभर औपचारिक रूपमा मनाउन थालिएको हो। भाषा केवल सञ्चारको माध्यम मात्र नभई पहिचान, संस्कृति, ज्ञान र सामाजिक सहभागिताको आधार भएकाले मातृभाषाको संरक्षणलाई विश्वव्यापी अभियानका रूपमा अघि बढाइएको छ। यूनेस्कोका अनुसार विश्वका करिब ४० प्रतिशत मानिसले अझै पनि आफूले बुझ्ने भाषामा शिक्षा प्राप्त गर्ने अवसर पाएका छैनन्। यसले मातृभाषामा आधारित शिक्षाको आवश्यकता अझ महत्वपूर्ण रहेको देखाउँछ। यस वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मूल विषय “बहुभाषिक शिक्षामा युवाको भूमिका” रहेको छ, जसले समावेशी र पहुँचयोग्य शिक्षा प्रणाली विकास गर्नुपर्ने सन्देश दिएको छ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको इतिहास सन् १९५२ मा हालको बंगलादेशमा भएको भाषा आन्दोलनसँग जोडिएको छ। मातृभाषा बंगालीलाई सरकारी मान्यता दिलाउन गरिएको आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थीहरूको सम्झनामा फेब्रुअरी २१ लाई विशेष दिनका रूपमा मनाउन थालिएको थियो। पछि यही दिनलाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्यता प्रदान गरिएको हो। बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपाल मा यो दिवसको विशेष महत्व रहेको छ। नेपालमा एक सयभन्दा बढी भाषा बोलिने भएकाले भाषिक संरक्षण, प्रयोग र पुस्तान्तरणको विषय अझ महत्वपूर्ण मानिन्छ।

यो दिवसको अवसरमा विद्यालय, क्याम्पस, भाषा आयोग, सांस्कृतिक संस्था तथा विभिन्न सामाजिक संघ–संस्थाले सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सांस्कृतिक प्रस्तुति तथा मातृभाषा सम्बन्धी छलफल आयोजना गरेका छन्। भाषाविद्हरूका अनुसार प्रारम्भिक तहको शिक्षा मातृभाषामा दिँदा विद्यार्थीको सिकाइ क्षमता बढ्ने, आत्मविश्वास विकास हुने तथा स्थानीय संस्कृति र पहिचान संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ। भाषिक विविधता मानव सभ्यताको महत्वपूर्ण सम्पत्ति भएकाले मातृभाषाको संरक्षण, प्रयोग र प्रवर्द्धनमा राज्य, शैक्षिक संस्था तथा समुदाय सबैको साझा प्रयास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवसले विश्वभर भाषिक सम्मान, समावेशिता र सांस्कृतिक पहिचान संरक्षणको सन्देश फैलाउँदै आएको छ।