१९ वर्षपछि भारत फर्किँदै अन्तर्राष्ट्रिय पप स्टार शाकिरा

मुम्बई । विश्वप्रसिद्ध पप स्टार तथा बहु–ग्रामी अवार्ड विजेता सारिका आगामी अप्रिलमा १९ वर्षपछि भारत भ्रमणमा आउने भएकी छन्। लामो प्रतीक्षापछि भारतीय मञ्चमा उनको पुनरागमन हुने खबर सार्वजनिक भएसँगै दक्षिण एसियाभरिका संगीतप्रेमीहरूमा उत्साहको माहोल सिर्जना भएको छ। आयोजक संस्था ‘फिडिङ इन्डिया’ र ‘डिस्ट्रिक्ट बाई जोमाटो’ले सार्वजनिक गरेको जानकारीअनुसार शाकिराले अप्रिल १० मा मुम्बई र अप्रिल १५ मा दिल्लीमा लाइभ कन्सर्ट गर्ने कार्यक्रम तय भएको छ। मुम्बईको महालक्ष्मी रेसकोर्स तथा दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजना हुने यी कार्यक्रमहरूमा हजारौँ दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। यसअघि शाकिराले सन् २००७ मा आफ्नो चर्चित ‘ओरल फिक्सेसन’ विश्व टुरअन्तर्गत मुम्बईमा प्रस्तुति दिएकी थिइन्। त्यसयता भारतमा उनको प्रत्यक्ष कन्सर्ट नभएकाले यसपटकको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सामाजिक सञ्जालमा समेत उनका भारतीय तथा नेपाली फ्यानहरूले उत्साह व्यक्त गरिरहेका छन्। यसपटकको कन्सर्ट केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई सामाजिक उद्देश्यसँग जोडिएको छ। ‘फिडिङ इन्डिया’ नामक गैर–नाफामूलक संस्थाले भोकमरी र कुपोषणविरुद्ध जनचेतना फैलाउने तथा खाद्य सहयोग अभियानलाई सशक्त बनाउन कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। आयोजकका अनुसार कन्सर्टबाट संकलित सहयोग विभिन्न पोषण कार्यक्रममार्फत आवश्यक समुदायसम्म पुर्‍याइनेछ। एक प्रेस नोटमार्फत शाकिराले भारतमा प्रस्तुति दिन पाउनु आफ्ना लागि सधैँ भावनात्मक रूपमा विशेष रहने बताउँदै बालबालिकाको पोषण र शिक्षासम्बन्धी अभियानमा सहभागी हुन पाउँदा आफू उत्साहित रहेको उल्लेख गरेकी छन्। उनले संगीतमार्फत सामाजिक सन्देश प्रवाह गर्न पाउनु कलाकारका रूपमा ठूलो अवसर भएको पनि बताएकी छन्।

“हिप्स डोन्ट लाई”, “व्हेनेभर, व्हेरेभर” तथा विश्वकप फुटबलको आधिकारिक गीत “वाका वाका” जस्ता विश्वव्यापी हिट गीतबाट अन्तर्राष्ट्रिय लोकप्रियता हासिल गरेकी शाकिरा आफ्नो ऊर्जावान् स्टेज प्रस्तुति, नृत्य शैली र दर्शकसँगको प्रत्यक्ष अन्तरक्रियाका लागि परिचित छिन्। संगीत यात्रासँगै उनले आफ्नै ‘बेयरफुट फाउन्डेसन’मार्फत शिक्षा, बालअधिकार र सामाजिक कल्याणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी छन्। यही सामाजिक प्रतिबद्धता ‘फिडिङ इन्डिया’को अभियानसँग मेल खाने भएकाले यस कार्यक्रमलाई संयुक्त राष्ट्रसंघको ‘जिरो हङ्गर २०३०’ लक्ष्यतर्फको सकारात्मक पहलका रूपमा पनि हेरिएको छ। लामो अन्तरालपछि हुने यस भ्रमणले भारतमा अन्तर्राष्ट्रिय कन्सर्ट संस्कृतिलाई थप सक्रिय बनाउने मात्र होइन, संगी