एमालेको दाबी : जनमत हाम्रो पक्षमा, नेतृत्व पनि हामीले नै गर्छौं

९ फागुन, काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि देशको नेतृत्व आफ्नै पार्टीले गर्ने दाबी गरेको छ। पार्टीले निर्वाचनमा पहिलो शक्ति बन्ने र सरकार गठनको नेतृत्व पनि आफूले नै गर्ने विश्वास व्यक्त गरेको हो। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो। प्रचार–प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले विगतका उपलब्धि र जनतासामु गरिएका प्रतिबद्धताका आधारमा एमाले मुलुककै सर्वाधिक लोकप्रिय दल बन्ने दाबी गरे। उनका अनुसार एमालेले अघि सारेका परिपूर्ण लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकार र सामाजिक न्यायसम्बन्धी एजेन्डाले जनताको समर्थन प्राप्त गर्ने विश्वास पार्टीको छ। यही आधारमा आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने उनको भनाइ थियो। एमालेले आफ्नो लोकप्रियता बढ्दै गएपछि निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न षड्यन्त्र भइरहेको समेत आरोप लगाएको छ। निर्वाचन प्रक्रियालाई असर पार्ने गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको शाहीले बताए। यसैबीच, निर्वाचनपछि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक अघि बढ्ने एमालेले जनाएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न फागुन २१ पछिको नेतृत्व एमालेले नै गर्ने पार्टीको दाबी रहेको छ।