विराटनगर। प्रहरीले २० वर्षदेखि खोजी सूचीमा रहेका बाँकेका एक ‘सिरियल किलर’ लाई भारतबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२२ का ५३ वर्षीय अफजल पठान रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई भारतको बहराइचबाट पक्राउ गरेर नेपाल ल्याएको हो।
पठानमाथि शृंखलाबद्ध रूपमा तीन व्यक्तिको बीभत्स हत्या गरेको आरोप छ। पछिल्लो पटक १७ चैत २०८० मा नेपालगञ्ज–२१ का २२ वर्षीय मोहम्मद अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सो घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेत खटिए पनि अभियुक्त फेला पर्न सकेको थिएन। हत्याको करिब २ वर्षपछि पठानलाई पहिचान गरी पक्राउ गरिएको बाँकेका एसपी अंगुर जिसीले बताए।
प्रहरीका अनुसार पठानले व्यक्तिगत रिसइबीका कारण अरबी खाँको हत्या गरेका थिए। उनीविरुद्ध जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ।
पक्राउ परेका पठानमाथि थप अनुसन्धान गर्दा उनी विगत दुई दशकदेखिका अन्य दुई हत्याकाण्डमा समेत फरार रहेको खुलेको छ। उनी १७ असार २०६१ मा बाँकेमा भएको हफिजुल्ला खाँको हत्या र ११ भदौ २०६२ मा भएको रियाज खाँको हत्यामा समेत संलग्न रहेको प्रहरीले जनाएको छ। हफिजुल्ला हत्या प्रकरणमा उनी फरार प्रतिवादी थिए भने रियाज खाँको हत्यामा उनीविरुद्ध किटानी जाहेरी परेको थियो।
प्रहरीले अब यी पुराना दुवै हत्याका घटनामा पठानमाथि पुनः अनुसन्धान अघि बढाउने भएको छ।