दमक भ्यूटावर सञ्चालन गर्ने बालेनको घोषणा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले झापाको दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता सार्वजनिक गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको आफ्नो बाचा पत्रमा उनले दमक भ्युटावर तथा दमक सभागृहलगायत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पहलमा निर्माण भएका योजनाहरूलाई उच्चतम नागरिक उपयोगिता सुनिश्चित हुने गरी सञ्चालनमा ल्याउने उल्लेख गरेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका साहले संविधानको पूर्ण पालना गर्दै संघीय सांसदका रूपमा कानून निर्माण, संशोधन तथा परिमार्जनमार्फत कार्य प्रणालीलाई कानूनी, स्पष्ट र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै, उनले संघीय संसदमा देखिएको बेथिति र भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा उभिने तथा राष्ट्रिय नीति र बजेट निर्माण प्रक्रियामा झापा–५ का विकाससम्बन्धी मुद्दाहरू सशक्त रूपमा उठाउने प्रतिवद्धता पनि जनाएका छन्।