सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, सात जना घाइते

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच भएको झडपमा सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई नेपाली र पाँच चिनियाँ नागरिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार मरिण–६ धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ भने उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको छ। त्यस्तै कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरू ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो वाया, ४० वर्षीय छ्याङ छोङ, ४६ वर्षीय चुजेन र ३१ वर्षीय लेउसेन्सी घाइते भएका छन्। उनीहरूको कान, टाउको, हात, छाती तथा मुखमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ। प्रहरीका अनुसार नवराज बम्जनलाई कामबाट हटाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो, जुन पछि झडपमा परिणत भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।      (रासस)