टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु

विराटनगर । धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिला प्रहरीको मृत्यु भएको छ । सोमबारको दुर्घटनामा ट्राफिक प्रहरी हवलदार चन्द्रकला महतोको मृत्यु भएको हो ।

जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकमा प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल महतोले चलाएकी थिइन् । उनी जिल्ला ट्राफिक प्रहरी कार्यलय धनुषामा कार्यरत थिइन् ।

मोटरसाइकल चलाउँदै मुरलीचोकतर्फ जाँदै गरेको अवस्थामा भ्रमरपुरा चोकबाट मुरलीचोकतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको थियो । महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । ठक्कर दिने टिपर, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।