धमाधम ज्यान गुमाउँदै म्यादी प्रहरी, तीन सातामा तीन जनाको मृत्यु

विराटनगर । बैतडी जिल्लामा म्यादी प्रहरी (निर्वाचन प्रहरी)ले धमाधम ज्यान गुमाइरहेका छन् । तीन साताको अवधिमा जनाको मृत्यु भइसकेको छ ।

मेलौली नगरपालिका–६ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्टको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए ।

सोमबार साँझ ड्युटी सकेर घर फर्केका भट्ट घरमै एक्कासी बेहोस भएका थिए । तत्काल उनलाई उपचारका लागि एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर, डाक्टरहरूले मध्यराति १२ः५ बजेतिर उनको मृत्युको पुष्टि गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

भट्टको मृत्युअघि पनि बैतडीमा दुई जना निर्वाचन प्रहरीको मृत्यु भएको थियो । फागुन ८ गते दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वडको घरमै बेहोस भएर मृत्यु भएको थियो । त्यसअघि गत माघ २० गते दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको थियो । तालिम सकेर फर्किने क्रममा उनले ज्यान गुमाएका हुन् ।