विराटनगरमा चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–११ बाट मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४१ वर्षीय दीपेश रेग्मी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फागुन ८ गते दिउँसो १२ बजेतिर विराटनगर–११ स्थित जनपथ टोलको सडकमा पार्किङ गरेको प्रदेश १–०२–०४८ प २०६३ नम्बरको मोटरसाइकल चोरी भएको थियो । पार्किङ गरेको स्थानबाट मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले रेग्मीलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका रेग्मीको साथबाट चोरी भएको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ। रेग्मीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर चोरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।