रास्वपा सरकार आए विगतका सबै ठूला काण्ड अनुसन्धान हुने : रवि लामिछाने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सभापति रवि लामिछाने ले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए विसं २०४६ सालपछि देशमा भएका सबै प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने बताएका छन्। सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ पछि बन्ने रास्वपा सरकारले विगतका ठूला भ्रष्टाचार प्रकरणका फाइलहरू पुनः खोल्ने दाबी गरे। उनले देशव्यापी रूपमा रास्वपाका उम्मेदवारलाई विजयी गराउन मतदातासँग अपिल गर्दै सही निर्णय गर्न आग्रह गरे। उनका अनुसार देशमा भएका अनियमितता र भ्रष्टाचारको वास्तविकता सार्वजनिक गर्न सरकार परिवर्तन आवश्यक रहेको बताए। “ठूला भ्रष्टाचार काण्डहरूको सत्य बाहिर ल्याउन रास्वपाको सरकार आवश्यक छ,” उनले भने, “फागुन २१ जनताको निर्णयको दिन हो, जसले देशको भविष्य तय गर्नेछ।” सभाका क्रममा लामिछानेले जेनजी आन्दोलनताका शेरबहादुर देउवा निवासमा जलेको भनिएको नगद रकमको प्रसङ्ग उठाउँदै त्यसलाई गम्भीर छानबिनको विषय भएको उल्लेख गरे। उनले २०४६ सालपछिका सबै काण्डहरूको निष्पक्ष अनुसन्धान गरिने मात्र नभई विदेशमा लुकाइएका सम्पत्तिसमेत खोजी गरी कानुनी दायरामा ल्याइने बताए। निर्वाचन मिति सार्ने चर्चा चलिरहेका बेला उनले कुनै पनि बहानामा चुनाव रोक्न नहुने धारणा व्यक्त गरे। “लोकतन्त्रको मूल आधार जनताको मत हो,” उनले भने, “जनता मतदानका लागि तयार छन्। कुनै दलले बहाना बनाएर चुनाव प्रभावित पार्न खोज्नु हुँदैन। रास्वपाले जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्छ—पहिलो स्थान आए पनि स्वीकार, शून्य सिट आए पनि स्वीकार।”