मोरङमा कांग्रेसको प्रभाव बढ्दै : संयोजक गिरि

विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यस क्षेत्रमा नेपाली कांग्रेस ले आफ्नो संगठनात्मक प्रभाव विस्तार गरिरहेको दाबी गरेको छ। पार्टीका महामन्त्री गुरुराज घिमिरे उम्मेदवार बनेपछि क्षेत्रको राजनीतिक माहोल थप सक्रिय बनेको कांग्रेस नेताहरूको भनाइ छ। उनको चुनावी अभियानलाई व्यवस्थित बनाउन गठन गरिएको ‘युवा परिचालन समिति’ हाल विभिन्न टोल तथा वडास्तरमा अभियान सञ्चालन गरिरहेको छ। युवा नेता अभिषेक गिरी को संयोजकत्वमा रहेको उक्त समितिले युवाहरूलाई संगठित गर्ने तथा अन्य दलका कार्यकर्तालाई कांग्रेसमा भित्र्याउने अभियानलाई तीव्र बनाएको जनाएको छ। संयोजक गिरीका अनुसार चुनावी अभियान सुरु भएयता मात्रै विभिन्न दल त्याग गरी ५०० भन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन्। उनले मोरङ–४ मा कांग्रेसको पक्षमा जनसमर्थन बढ्दो क्रममा रहेको दाबी गर्दै टोल–टोल र बस्ती–बस्तीमा पुगेर मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। “हरेक दिन अन्य दलका कार्यकर्ताहरू पार्टीको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै कांग्रेसमा आबद्ध भइरहेका छन्,” उनले बताए। चुनावी प्रचारकै क्रममा सोमबार मोरङ–४ अन्तर्गत विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो। ग्रामथान ९पिडारबनी० मा आयोजित कार्यक्रममा करिब १०० जना कार्यकर्ताले विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए। त्यसैगरी सोही दिन साँझ कटहरीमा आयोजित कार्यक्रममा फिरोज खान, असलम सेखलगायत युवाहरूले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार घिमिरे तथा संयोजक गिरीले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै गिरीले मोरङ क्षेत्र क्रमशः कांग्रेसको प्रभाव क्षेत्रमा रूपान्तरण हुँदै गएको दाबी गरे। उनले जनताले विकास र परिवर्तनको अपेक्षा गरेको उल्लेख गर्दै त्यसको नेतृत्व घिमिरेले गर्न सक्ने विश्वास व्यक्त गरे। कांग्रेस सम्बद्ध नेताहरूले आगामी दिनमा पार्टी प्रवेशको क्रम अझ बढ्ने र यसले विपक्षी दलहरूमा राजनीतिक दबाब सिर्जना गर्ने दाबी गरेका छन्।