अमेरिकामा भीषण हिमपातको कहर : ११ हजार उडान रद्द, ६ लाख घर अन्धकारमा

एजेन्सी। अमेरिकामा आएको तीव्र हावा सहितको भारी हिमपातका कारण जनजीवन व्यापक रूपमा प्रभावित भएको छ। खराब मौसमका कारण विभिन्न विमानस्थलका धावनमार्ग बन्द गरिएका छन् भने देशभर हजारौं उडान निलम्बन गरिएको छ। उडान ट्र्याकिङ कम्पनी  फ्लाइटअवेयरकाका अनुसार आइतबारदेखि मंगलबारसम्म कुल ११ हजार ५५ भन्दा बढी उडान रद्द भएका छन्। सोमबार मात्रै करिब ५ हजार ६०० देखि ५ हजार ७०० उडान रद्द भएका थिए, जुन देशभर सञ्चालन हुने कुल उडानको झण्डै २० प्रतिशत हो। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही क्षेत्रमा करिब ३७ इन्चसम्म हिउँ परेको छ। हिमपातको असर विशेषगरी उत्तरपूर्वी राज्यहरूमा बढी देखिएको छ। भारी हिमपातका कारण ६ लाखभन्दा बढी घर तथा कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। सोमबार साँझसम्म ५ लाख १९ हजार २३२ घर र कार्यालय बिजुलीविहीन रहेको जनाइएको छ। यसैबीच, बोस्टनस्थित द्ययकतयल न्यिदभ अखबारले आफ्ना कर्मचारी छापाखानासम्म पुग्न नसकेपछि १५३ वर्षको इतिहासमै पहिलो पटक मुद्रित संस्करण प्रकाशित गर्न नसकेको जनाएको छ।

धेरै राज्यमा आपतकाल घोषणा

हिमआँधीका कारण विभिन्न राज्यहरूले आपतकाल घोषणा गरेका छन्। आइतबार र सोमबारको बीचमा न्यूयोर्कको सेन्ट्रल पार्कमा करिब २० इन्च हिउँ परेको रेकर्ड गरिएको छ भने लङ आइल्याण्डको इस्लिप क्षेत्रमा २२ इन्चभन्दा बढी हिउँ परेको छ रोड आइल्याण्डको प्रोभिडेन्समा ३२।८ इन्च हिउँ मापन गरिएको छ, जसले सन् १९७८ मा कायम भएको २८।६ इन्चको पुरानो रेकर्ड तोडेको छ।

न्यूयोर्क शहरमा स्कूल, सडक, पुल तथा राजमार्गहरू अस्थायी रूपमा बन्द गरिएको थियो। अवस्था सुधार हुँदै गएपछि मेयर जोहरान ममदानीले प्रतिबन्ध हटाउँदै मंगलबारदेखि विद्यालय पुनः सञ्चालन हुने घोषणा गरेका छन्। म्यासाचुसेट्सकी गभर्नर मौरा हेलीले केही क्षेत्रमा यात्रा प्रतिबन्ध लागू गर्दै नागरिकलाई घरमै बस्न आग्रह गरेकी छन्। रोड आइल्याण्डका गभर्नर डान म्याकीले राज्यव्यापी यात्रा प्रतिबन्ध जारी गरेका छन् भने न्यूयोर्ककी गभर्नर क्याथी होचुलले राज्यभर आपतकाल घोषणा गर्दै राष्ट्रिय गार्डलाई उच्च सतर्कतामा राख्न निर्देशन दिएकी छन्।