मोरङ–४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरेको कडा चुनावी परीक्षा

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिएका छन्। पार्टीभित्र वैचारिक नेताको रूपमा पहिचान बनाएका घिमिरे यसपटक संघीय संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय छन्। २०७९ सालको निर्वाचनमा घिमिरे सोही क्षेत्रअन्तर्गत प्रदेशसभा ९४–१० मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी नेकपा ९एमाले०का जयप्रकाश चौधरीसँग ४०१ मतको झिनो अन्तरले पराजित भएका थिए। चौधरीले १५ हजार ४६५ मत प्राप्त गर्दा घिमिरे १५ हजार ५८ मतमा सीमित भएका थिए। यसपटक भने घिमिरे ३९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै घरदैलो अभियानमा व्यस्त छन्। पार्टीको विशेष महाधिवेशनबाट महामन्त्री बनेपछि संगठनात्मक रूपमा आफू थप बलियो भएको विश्वास कांग्रेस वृत्तमा गरिएको छ। मोरङ–४ मा घिमिरेका मुख्य प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का प्रभावशाली नेता अमनलाल मोदी मानिएका छन्। यसबाहेक एमालेका जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सन्तोष राजवंशी पनि चुनावी दौडमा छन्, जसले प्रतिस्पर्धालाई बहुपक्षीय बनाएको छ। स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा क्षेत्रका २३ वडामध्ये १८ वडामा एमाले विजयी भएकाले घिमिरेका लागि चुनाव सहज नहुने आँकलन गरिएको छ। तथापि, कांग्रेसले संगठन सुदृढीकरण र घिमिरेको शालीन तथा बौद्धिक छविलाई जितको आधार मानिरहेको छ। थारु समुदायको बाहुल्य रहेको यस क्षेत्रमा अमनलाल मोदीको प्रभाव उल्लेख्य मानिन्छ। उनले २०७४ र २०७९ दुवै प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए। यता नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाको उपस्थितिले परम्परागत दलहरूबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। निर्वाचनका लागि क्षेत्रमा ४० मतदान स्थल र १३१ मतदान केन्द्र तोकिएका छन्। २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अमनलाल मोदीले ३० हजार ६१२ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका विनोद ढकालले २४ हजार ४६३ मत ल्याएका थिए। यसैबीच, गत मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत ग्रामथान गाउँपालिकाको अध्यक्षमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित भएका थिए, जसलाई क्षेत्रीय राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।