विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले कोशी प्रदेशका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ। मंगलबार सुनसरीको इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्वले यस्तो दाबी सार्वजनिक गरेको हो। इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह तथा कोशी प्रदेशका विभिन्न क्षेत्रका प्रतिनिधि र उम्मेदवारहरूले सम्बोधन गरेका थिए। वक्ताहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा परम्परागत राजनीतिक अभ्यासको अन्त्य गर्दै नयाँ राजनीतिक संस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले २०४६ सालपछि भएका प्रमुख भ्रष्टाचार काण्डहरूको छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सहकारी पीडितहरूको बचत रकम फिर्ता गराउने विषयलाई प्राथमिकतामा राखिने बताए। उनले राजनीतिमा पारदर्शिता र जबाफदेहिता कायम नगरी देशको विकास सम्भव नहुने उल्लेख गर्दै परिवर्तनको एजेन्डामा जनसमर्थन मागे। त्यसैगरी नेता शाहले देश रूपान्तरणका लागि सक्षम राजनीतिक शक्ति रास्वपा नै भएको दाबी गर्दै परम्परागत दलप्रति जनताको निराशा बढ्दै गएको टिप्पणी गरे। युवापुस्ताको अपेक्षा सम्बोधन गर्न नयाँ राजनीतिक विकल्प आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूको उल्लेख्य उपस्थितिले पार्टी पंक्तिमा उत्साह थपिएको रास्वपाले जनाएको छ। सभास्थलमा उपस्थित एक सहभागीले ‘घण्टी’ चुनाव चिन्हतर्फ संकेत गर्दै कोशी प्रदेशमा परिवर्तनको लहर सुरु भएको प्रतिक्रिया दिएकी थिइन्।कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै रास्वपा कोशी प्रदेशका महामन्त्री तथा सुनसरी क्षेत्र नम्बर–२ का उम्मेदवार लालविक्रम थापाले अपेक्षाभन्दा बढी जनसहभागिता देखिएको बताए। उनले पार्टीको आन्तरिक मूल्यांकनअनुसार कोशीका कम्तीमा १९ निर्वाचन क्षेत्रमा जित हासिल गर्ने अवस्था रहेको दाबी गरे।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कोशी प्रदेशमा कुनै पनि क्षेत्रमा विजय हासिल गर्न सकेको थिएन। यद्यपि सुनसरी र मोरङका केही क्षेत्रमा प्रतिस्पर्धात्मक मत प्राप्त गरेको पार्टीको दाबी छ। त्यसयता संगठन विस्तार, जनसम्पर्क अभियान र स्थानीय मुद्दामा सक्रियताका कारण आफ्नो आधार विस्तार भएको पार्टी नेताहरूले बताएका छन्।