भानुभक्तपछि क्षेत्रमा इरन राई, सुकुम्बासी र दोहोरो स्वामित्व विवाद समाधान पहिलो लक्ष्य

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा वर्षौंदेखि सुकुम्बासी समस्या र जग्गाको दोहोरो स्वामित्व विवाद प्रमुख मुद्दाका रूपमा कायम छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का सचिव भानुभक्त ढकालले यही विषयलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए । त्यतिबेला उनले सार्वजनिक रूपमा आगामी निर्वाचनसम्म सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रीसमेत बनेका ढकालको पाँच वर्षे कार्यकाल बितिसक्दा पनि उक्त समस्या समाधान हुन सकेन र अवस्था यथावत् रह्यो ।

२०७९ सालको निर्वाचनमा पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेर सुकुम्बासी बस्ती पुगेका ढकाललाई पुरानै वाचाले पछ्यायो । मतदाताको असन्तुष्टिबीच उनले निर्वाचनमा पराजय व्यहोर्नुपर्‍यो । हाल भने ढकाल मोरङ–३ छाडेर तेह्रथुमबाट उम्मेदवार बनेका छन् । ढकालले २०७४ र २०७९ मा प्रतिस्पर्धा गरेको मोरङ–३ मा यसपटक एमालेबाट इरन राई उम्मेदवार बनेका छन् । उनी अहिले मतदातामाझ पुग्दा वर्षौंदेखि समाधान नभएका सुकुम्बासी समस्या र दोहोरो स्वामित्व विवादबारे प्रश्नहरूको सामना गरिरहेका छन् । मतदाताले विशेषगरी ‘दोहोरो स्वामित्व विवाद कहिले अन्त्य हुन्छ रु’ भन्ने जिज्ञासा राख्ने गरेका छन् ।

राईले भने समस्या समाधानमा ढिलाइ हुनुको मुख्य कारण राजनीतिक अस्थिरता रहेको बताएका छन् । उनका अनुसार २०७४ मात्रै नभई २०५१ सालमै तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । ऋषिराज लुम्सालीको संयोजकत्वमा बनेको उक्त आयोगमार्फत मोरङसहित विभिन्न क्षेत्रमा नापीको काम अघि बढाइएको उनले स्मरण गरे ।

तर सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि प्रक्रिया अवरुद्ध भएको र त्यसपछि समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ । निर्वाचन लक्षित घरदैलो अभियानका क्रममा राईले सुकुम्बासी तथा दोहोरो स्वामित्व समस्या समाधान आफ्नो प्रमुख प्राथमिकता हुने बताएका छन् । विद्यमान ऐन–कानुनले मात्र समस्या समाधान सम्भव नदेखिएकाले विशेष कानुन निर्माण गरेरै भए पनि समाधान खोज्ने उनको प्रतिबद्धता छ । उनले २०५१ सालमा सुरु गरिएको नापी प्रक्रियाअन्तर्गत धेरै नागरिकले निस्सा प्राप्त गरिसकेको उल्लेख गर्दै ती निस्सालाई लालपुर्जामा रूपान्तरण गर्न आगामी कार्यकालमा संसद्मा प्रभावकारी भूमिका खेल्ने दाबी गरेका छन् ।

सुकुम्बासी समस्यासँगै मोरङ–३ को समग्र विकासलाई पनि प्राथमिकतामा राख्ने उनले बताएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्पलाई स्थानीय तहमा कार्यान्वयन गर्दै पूर्व–पश्चिम लोकमार्गको सौन्दर्यीकरण, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण तथा भौतिक पूर्वाधार विकासलाई अघि बढाउने योजना उनले सार्वजनिक गरेका छन् ।

केही समयअघि प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्मासँगको भेटको तस्बिर सार्वजनिक भएपछि उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै राईले त्यसलाई राजनीतिक संस्कार र सौहार्दताको उदाहरण मात्र भएको स्पष्ट पारे । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि आफूलाई मत दिन उनले मतदातासँग आग्रह गरेका छन् । मोरङ–३ मा राईसँग नेपाली कांग्रेसका सुनील शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । देशभर चुनावी माहोल तात्दै जाँदा यस क्षेत्रमा पनि निर्वाचन गतिविधि तीव्र बन्दै गएको छ । उम्मेदवारहरू घरदैलो अभियानमार्फत मतदाताको घरघरमा पुगेर समर्थन मागिरहेका छन् ।