काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले मतदान मितिभन्दा सात दिनअघि नै मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । मतदान सम्पन्न भई अन्तिम परिणाम घोषणा नभएसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार लागू गरिएको यो व्यवस्था निर्वाचन सुरक्षा योजनाअन्तर्गत कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने तय भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मदिरा निषेधको निर्णय गरिएको हो ।
निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित समितिको बैठकले उक्त निर्णय गरेको आयोगले स्पष्ट पारेको छ । स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सुरक्षा अवस्थाको मूल्याङ्कन गरी थप व्यवस्थापनसम्बन्धी निर्णयहरू समेत गरिएको जनाइएको छ ।
यसैबीच निर्वाचन प्रचारप्रसार फागुन १८ गते राति १२ बजेदेखि पूर्ण रूपमा निषेध हुने भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई सक्रिय बनाउँदै निषेधित गतिविधि हुन नदिन विशेष निगरानी बढाइने पनि जनाइएको छ । निर्वाचन ९कसुर तथा सजाय० ऐन २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १७ र १८ विपरीत गतिविधि भएमा तत्काल कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
मतदानको दिन अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधन भने सञ्चालनमा रहनेछन् । उक्त व्यवस्था फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुने बताइएको छ ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, साथै विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतसम्बन्धी सवारीसाधन सञ्चालनमा रहने आयोगले जनाएको छ ।