फागुन २० रातिदेखि मतदान नसकिँदासम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०७८ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाइएको छ।

निर्णयअनुसार एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवाका सवारीसाधन, सुरक्षा निकायका गाडी, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका सवारीसाधन, कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध रहनेछ। त्यस्तै, निर्वाचनको मितिभन्दा सात दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादकपदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि गरिएको आयोगले जनाएको छ। ७७ वटै जिल्लामा उक्त प्रतिबन्ध कार्यान्वयन गरिनेछ।

जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत निर्वाचन आचारसंहिता उल्लंघन हुने गतिविधि रोक्न निर्देशन दिइएको छ। निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेधित कार्य भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत परिपत्र गरिएको छ।

निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक मार्गदर्शन र सिफारिससमेत सम्बन्धित निकायलाई पठाइएको आयोगले जनाएको छ। साथै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ। टिकट भएका यात्रुले विमानस्थल आवतजावत गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ। निर्वाचन सुरक्षासम्बन्धी व्यवस्थाअनुसार मतदान मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न पनि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।

मतदाताले मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य साथमा लैजानुपर्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। मतदानका दिन प्रयोग हुने सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष इकाई स्थापना गरिनेछ। उक्त इकाईमा आयोग तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खटाइनेछन्। निर्णय कार्यान्वयनमा सहजीकरण तथा समन्वय गर्न सबै सरोकारवालासँग आयोगले सहयोगको आग्रहसमेत गरेको छ