काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिन नेपाल प्रहरी उनको निवास पुगेको छ। प्रहरी स्रोतका अनुसार आइतबार बिहानै प्रसाईँलाई पक्राउ गर्ने उद्देश्यसहित प्रहरी टोली भक्तपुरस्थित उनको घरमा पुगेको हो। यसअघि पटक–पटक पक्राउ परेर रिहा हुँदै आएका प्रसाईँ पछिल्लो समय पुनः प्रहरी निगरानीमा परेका हुन्। उनी केही दिनअघि मात्रै सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले निर्वाचन प्रक्रिया अवरुद्ध पार्ने खालका अभिव्यक्ति दिँदै आएको आरोप लाग्दै आएको छ। सोही गतिविधिलाई ध्यानमा राख्दै प्रहरी उनको घर पुगेको बताइएको छ। सरकार र प्रसाईँबीच विगतमा पटक–पटक वार्ता भए पनि आफ्ना माग पूरा नभएको भन्दै उनले आन्दोलनका कार्यक्रम जारी राख्दै आएका छन्।