आजदेखि मतदाता शिक्षा कार्यक्रम समाप्त, भोलि रातिदेखि मौन अवधि सुरु

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम आजदेखि सम्पन्न गर्ने भएको छ। आयोगले गत फागुन ३ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम निर्धारित समयअनुसार आज सकिन लागेको हो। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार सञ्चालन गरिएको उक्त कार्यक्रम बदर मतको संख्या घटाउने उद्देश्यसहित लागू गरिएको थियो। आयोगले करिब २५ करोड रुपैयाँ खर्च गरेर देशभर मतदाता सचेतना अभियान सञ्चालन गरेको जनाएको छ। यसैबीच, भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलहरूले त्यसअघिसम्म मात्र जुलुस, आमसभा तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। मौन अवधि सुरु भएपछि कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। निर्वाचनको दिन अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन सञ्चालनका विषयमा पनि आयोगले स्पष्टीकरण दिएको छ। सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई व्यवस्थित र सेवामैत्री बनाउन लागू गरिएको सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुसार अत्यावश्यक सेवाका सवारीसाधनलाई पास आवश्यक नपर्ने जनाइएको छ। आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन तथा खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनहरूलाई कुनै प्रकारको अनुमति पास लिनु नपर्नेछ। प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब चार दिन मात्रै बाँकी रहेको छ।