मतदानका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने व्यवस्था गर्न आयोगको सरकारसँग आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान दिन अत्यावश्यक सेवा तथा विशेष प्रयोजनका सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। आयोगले जारी गरेको विज्ञप्तिअनुसार फागुन २१ गते हुने मतदानका दिन सवारी आवागमनलाई व्यवस्थित, प्रभावकारी र सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ बमोजिम उक्त व्यवस्था लागू गर्न अनुरोध गरिएको हो।

आयोगले दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी ट्यांकर, दूध, फलफूल, तरकारी, माछा–मासु तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गर्न सुझाव दिएको छ। साथै दूरसञ्चार, विद्युत्, खानेपानी र ढल मर्मतसम्बन्धी सेवा तथा अस्पताल सेवामा प्रयोग हुने सवारीसाधन, चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका सवारीलाई पनि सोही व्यवस्थाभित्र समेट्न भनिएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु ओसारपसार गर्ने सवारी—विमानस्थलदेखि घर वा होटलसम्म र उल्टो दिशामा सञ्चालन हुने—लाई समेत पास आवश्यक नपर्ने प्रस्ताव गरिएको छ। हिँडडुल गर्न असमर्थ गर्भवती, सुत्केरी, साना बालबालिकासहितका महिला, किरियापुत्री, अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक तथा मतदाता र उनीहरूको एक जना सहयोगी बोकेका सवारीलाई पनि पासबिनै सञ्चालन गर्न दिन आयोगले आग्रह गरेको छ। यस्तै कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारी, आयोगबाट परिचयपत्र प्राप्त पर्यवेक्षक, राष्ट्रिय मानव अधिकार आयोगका अनुगमन टोली तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई समेत पास नचाहिने व्यवस्था गर्न सरकारलाई अनुरोध गरिएको छ।

सवारी व्यवस्थापनलाई सहज बनाउन आयोग परिसरमा गृहमन्त्रालय, आयोग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित एकीकृत ‘सवारी आवागमन डेस्क’ सञ्चालनमा रहेको छ। उक्त डेस्कमार्फत काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका लागि आवश्यक सवारी पास वितरण भइरहेको आयोगले जनाएको छ।