विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा एक किशोरको मृत्यु , दुई घाइते

विराटनगर । विराटनगरबाट सुनसरीको चिमडीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। हुलाकी राजमार्गअन्तर्गत सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा आइतबार साँझ करिब ७ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। विराटनगरबाट चिमडीतर्फ गइरहेको ना ६ ख २२५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को ३१ प ५५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–१० निवासी १६ वर्षीय कुन्दन पौदार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। मोटरसाइकलमा सवार अन्य दुई जना — अन्दाजी ४५ वर्षीय महानन्द पौदार र २० वर्षीय सन्तोष मेहता — घाइते भएका छन्। घाइतेमध्ये महानन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवैको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला मोटरसाइकल कसले चलाइरहेको थियो भन्ने विषय अझै खुल्न सकेको छैन। दुर्घटनामा संलग्न ट्रक र चालक सप्तरीको तिरहुत गाउँपालिका–५ निवासी अन्दाजी ३३ वर्षीय विनोदकुमार मेहतालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको तीव्र गति तथा ट्रक चालकको असावधानीका कारण दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ। साथै, मोटरसाइकलमा तीन जना सवार हुनु कानुनविपरीत रहेको प्रहरीले स्मरण गराएको छ।