निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा, झापा–सर्लाहीमा अतिरिक्त प्रहरी तैनाथ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निकायले राजनीतिक रूपमा संवेदनशील मानिएका झापा क्षेत्र नम्बर–५ र सर्लाही क्षेत्र नम्बर–४ मा विशेष सुरक्षा सतर्कता बढाएका छन्। ती क्षेत्रमा कडा चुनावी प्रतिस्पर्धा, शीर्ष नेताको प्रतिष्ठासँग जोडिएको चुनावी परिणाम तथा विगतका गतिविधिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले उच्च सुरक्षा तयारी अघि बढाएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान प्रक्रिया निष्पक्ष र शान्तिपूर्ण बनाउन अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ। मतदातामा त्रास सिर्जना हुन नदिन, उम्मेदवार तथा कार्यकर्ताबीच सम्भावित विवाद नियन्त्रणमा राख्न र निर्वाचन गतिविधि अवरोधरहित बनाउन निगरानी तथा गस्तीलाई तीव्र पारिएको छ। सादा पोसाकमा प्रहरी खटाएर सूचना संकलन र गतिविधि अनुगमनसमेत बढाइएको छ।

सुरक्षा विश्लेषणका आधारमा दुवै निर्वाचन क्षेत्रलाई ‘उच्च सुरक्षा जोखिम’ सूचीमा राखिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मातहतका सबै इकाइलाई उच्च सतर्कता अपनाउन, समन्वय सुदृढ गर्न र सूचनाको द्रुत आदान–प्रदान सुनिश्चित गर्न निर्देशन दिएका छन्। झापा–५ मा २२ वरिष्ठ प्रहरी अधिकृतसहित कुल ७७८ जना अतिरिक्त प्रहरी परिचालन गरिएको छ। आवश्यकताअनुसार सशस्त्र प्रहरी बल, निर्वाचन केन्द्रित सुरक्षा टोली तथा नेपाली सेनासँग समेत सहकार्य रहने गरी बहुस्तरीय सुरक्षा घेरा तयार पारिएको प्रहरीले जनाएको छ।

त्यसैगरी सर्लाही–४ मा २५ वरिष्ठ अधिकृत, ११९ कनिष्ठ अधिकृत र ६४८ अन्य प्रहरी गरी ७९२ अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। उक्त क्षेत्रमा पनि सशस्त्र प्रहरी र विशेष सुरक्षा टोलीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि, आर्थिक चलखेल, समूहगत प्रदर्शन वा अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गस्ती, निगरानी र सूचनाको विश्लेषणलाई प्राथमिकतामा राखिएको छ। सादा पोसाकका सुरक्षाकर्मीलाई स्थानीय गतिविधि र सम्भावित उक्साहटबारे सूक्ष्म निगरानी गर्न निर्देशन दिइएको छ।

हालसम्म प्रत्यक्ष सुरक्षा चुनौती देखिएको छैन। तर “घटना हुनुअघि नै रोकथाम गर्ने” रणनीतिअनुसार सुरक्षा तयारी कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाइ छ। मतदान केन्द्र सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको संरक्षणदेखि नतिजा घोषणा चरणसम्मका लागि समग्र सुरक्षा योजना लागू गरिएको छ।

निर्वाचन निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षा संयन्त्रले स्थानीय प्रशासन, राजनीतिक दल तथा उम्मेदवारहरूसँग समन्वयसमेत बढाएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा झापा र सर्लाही राजनीतिकसँगै सुरक्षा व्यवस्थापनका दृष्टिले समेत विशेष चासोको केन्द्र बनेका छन्।