निर्वाचनको मौन अवधिमा के–के गर्न पाइँदैन ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि सुरु भएको यस अवधिमा कुनै पनि प्रकारको चुनावी गतिविधि गर्न नपाइने व्यवस्था छ।

मौन अवधिलाई शान्त र निष्पक्ष वातावरण सुनिश्चित गर्ने समयका रूपमा लिइन्छ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा मतदाता सबैले आचारसंहिताको पालना गर्नुपर्नेछ।

मत माग्न पूर्ण रोक

यो अवधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाइँदैन। साउन्ड सिस्टम, एसएमएस, फोन कल, सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म वा अन्य कुनै माध्यम प्रयोग गरेर प्रचारप्रसार गर्नु गैरकानुनी मानिन्छ।

सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

फेसबुक, एक्स ९ट्वीटर०, टिकटक लगायतका माध्यममा कुनै दल वा उम्मेदवारको समर्थन वा विरोधमा पोस्ट, शेयर, कमेन्ट वा प्रचार सामग्री प्रसारण गर्न पाइँदैन।

सभा–जुलुस र कार्यक्रम निषेध

चुनावसँग सम्बन्धित छलफल, सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला जस्ता कार्यक्रम आयोजना गर्न रोक लगाइएको छ। साथै जुलुस निकाल्ने, नाराबाजी गर्ने, बाजागाजा बजाउने, भोजभतेर गर्ने वा हुलहुज्जत गर्ने कार्य पनि निषेधित छन्।

मतदान प्रक्रियामा अवरोध गर्न नपाइने

मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म मतदान केन्द्र, मतदाता वा खटिएका कर्मचारीलाई कुनै किसिमको अवरोध वा दबाब दिन पाइँदैन।

प्रचार सामग्री हटाउन निर्देशन

मतदानस्थलको ३०० मिटर क्षेत्रभित्र राखिएका पोस्टर, ब्यानर, पम्पलेट लगायतका प्रचार सामग्री ४८ घण्टा अगावै हटाइसक्नुपर्नेछ। सामाजिक सञ्जालमा राखिएका भुक्तानीका विज्ञापनसमेत हटाउनुपर्ने व्यवस्था छ।

शान्ति र सुरक्षामा जोड

मतदान केन्द्र आसपास शान्ति भंग हुने, भय–त्रास सिर्जना हुने वा निर्वाचनको वातावरण बिग्रने खालका गतिविधि कडाइका साथ निषेध गरिएको छ।

निर्वाचन आयोगले मौन अवधिको उल्लंघन गरे कानुनी कारबाही हुने स्पष्ट पारेको छ।