विराटनगर । मोरङ जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारी परिचालन भइसकेको छ भने सबै मतदानस्थल र केन्द्रमा आवश्यक सामग्रीसमेत पुर्याइसकिएको निर्वाचन कार्यालयले जनाएको छ।
कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङका ३०६ मतदानस्थलअन्तर्गत रहेका ८८८ मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री समयमै पुगेका छन्। मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले सबै केन्द्र सञ्चालनका लागि तयारी पूरा भएको जानकारी दिए। निर्वाचनका लागि प्रयोग हुने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिएको छ। त्यस्तै, अन्य ५२ प्रकारका आवश्यक सामग्री निर्वाचन अधिकृतको कार्यालयमार्फत सम्बन्धित मतदान अधिकृतलाई बुझाइएपछि मतदानस्थलसम्म ढुवानी भइसकेको छ।
जिल्लाभर ८८८ मतदान अधिकृत, ८८८ सहायक मतदान अधिकृत र ५ हजार ३ सय ४६ कर्मचारी खटाइएका छन्। प्रत्येक निर्वाचन क्षेत्रमा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीको नेतृत्वमा २–२ जनाको घुम्ती टोली परिचालन गरिएको छ। यसरी जिल्लाका सबै ६ निर्वाचन क्षेत्रमा १२ सदस्यीय घुम्ती टोली सक्रिय छन्। ११० जना उम्मेदवार प्रतिस्पर्धामा रहेको मोरङमा कुल मतदाता संख्या ७ लाख ८३ हजार ५० रहेको निर्वाचन कार्यालयले जनाएको छ।