मौन अवधि सुरु, नियम तोडे उम्मेदवारी रद्दको चेतावनी

विराटनगर । फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि लागू भएको छ। निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जानकारी दिएको हो। आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मतदान सम्पन्न नभएसम्म कायम रहनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा चुनावसँग सम्बन्धित कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

निर्वाचन आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिता पनि स्पष्ट पारेको छ। प्रचारप्रसार, सभा–सम्मेलन, अन्तर्क्रिया, गोष्ठी, कार्यशाला जस्ता कार्यक्रम आयोजना गर्न पाइँदैन। साथै मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री ४८ घण्टा अगावै हटाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

कुनै पनि माध्यम प्रयोग गरेर मत माग्नसमेत रोक लगाइएको छ। आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया जनाउन पनि पाइँदैन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको उल्लंघन गम्भीर अपराध मानिने बताए। उनका अनुसार तोकिएको आचरणविपरीत गतिविधि गरेमा सम्बन्धित उम्मेदवारको मनोनयनसमेत रद्द हुन सक्ने चेतावनी दिइएको छ।