सुरक्षा सतर्कता बढ्यो: कोसीका १२० ठाउँमा बम डिस्पोजल टोली तैनाथ

सुनसरी । मोरङको विराटनगर र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। निर्वाचनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएपछि सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता उल्लेख्य रूपमा बढाइएको थियो। नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर, इटहरीका अनुसार विराटनगर महानगरपालिका–७ डाँफेचोकमा फेला परेको वस्तु निष्क्रिय पार्न त्यहाँस्थित विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। टोलीले आवश्यक प्राविधिक जाँचपछि उक्त वस्तु सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ।

यसैगरी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ अन्तर्गत भित्री कच्ची सडकखण्डमा फेला परेको अर्को शंकास्पद वस्तु पनि नियन्त्रणमा लिइएको छ। उक्त स्थानमा हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टोली परिचालन गरी वस्तु निष्क्रिय गरिएको पूर्वी पृतनाले जनाएको छ। दुवै घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायले सम्बन्धित क्षेत्रमा निगरानी बढाएका छन्। शंकास्पद वस्तुको प्रकृति र स्रोतबारे थप अनुसन्धान भइरहेको सेनाले उल्लेख गरेको छ।

पूर्वी पृतनाअन्तर्गत कोसी प्रदेशका सबै जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको जनाइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको पृतनाले स्पष्ट पारेको छ। सेनाले सर्वसाधारणलाई कुनै पनि स्थानमा शंकास्पद वस्तु देखिए वा फेला परेमा नछुने र तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।