काठमाडौं । देशका विभिन्न भागमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बादल लागेको मौसमविद्ले जनाएका छन्। मौसमविद् सन्जिव अधिकारीका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको उनले बताए।
काठमाडौं उपत्यकामा बाक्लो तुँवालोका कारण मौसम धुम्म देखिएको अधिकारीले जानकारी दिए। “अहिलेलाई वर्षा हुने सम्भावना छैन। देखिएको बदलीको प्रभाव अझै एक–दुई घण्टा कायम रहन सक्छ,” उनले भने। जल तथा मौसम विज्ञान विभागका अनुसार साँझपछि मौसम क्रमशः खुल्दै जानेछ। यद्यपि पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट पानी पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
भोलि बुधबार र पर्सि बिहीबार पनि पहाडी क्षेत्रमा आंशिक बदलीसँगै घाम लाग्ने अवस्था रहनेछ। ठूलो वर्षाको सम्भावना भने कतै नरहेको मौसमविद् अधिकारीको भनाइ छ।