रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा देखिएका छन्। हालसम्म ४ हजार ९८० मत गणना हुँदा उनले सबैभन्दा बढी मत प्राप्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार आज बिहान ६ बजेदेखि मतगणना सुरु गरिएको हो।
अहिलेसम्मको गणनाअनुसार प्रचण्डले २ हजार ९८९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार कुशुम थापाले ९१६ मत पाएकी छिन्। त्यस्तै नेकपा एमालेका लिलामणि गौतमले ५९२ मत ल्याएका छन्।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दिप पुनले ५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका लखनकुमार थापाले २८९ मत प्राप्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी परियारले आज बेलुका सम्म रुकुमपूर्वको अन्तिम नतिजा सार्वजनिक गरिने जानकारी दिएकी छन्।