काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद तथा उत्पीडन अन्त्य गर्न समाजका सबै तह र क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय महिला दिवस ( ९११६औँ अन्तरराष्ट्रिय महिला दिवस) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा कायम रहेका हानिकारक अभ्यास र कुप्रथाका कारण किशोरी तथा बालिकामाथि शारीरिक तथा मानसिक हिंसाका घटना बढिरहेको उल्लेख गरेका छन्। उनले यस्ता कुप्रथा अन्त्य गर्न प्रभावकारी तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।
राष्ट्रपति पौडेलले जनसङ्ख्याको करिब आधा हिस्सा महिलाले ओगटेको उल्लेख गर्दै महिलाको सशक्तीकरणले परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। महिलालाई सशक्त बनाउँदा मात्र देश दिगो समृद्धिको मार्गमा अघि बढ्न सक्ने उनको भनाइ छ। सन्देशमा नेपालको संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तले राजनीति, समाज, अर्थतन्त्र, संस्कृति तथा शिक्षा लगायतका क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासमा सकारात्मक भूमिका खेलेको उल्लेख गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, “यस दिवसले महिलाको अधिकार, समानता, सशक्तीकरण र सम्मानप्रति हामी सबैलाई अझ संवेदनशील भई काम गर्न थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस्।” महिला अधिकार र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष मार्च ८ मा अन्तरराष्ट्रिय महिला दिवस मनाइन्छ। यस वर्ष ग्लष्तभम ल्बतष्यलक ले तय गरेको ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने आदर्श वाक्यका साथ विश्वभर यो दिवस मनाइँदै छ। विश्वभर महिलाले विभिन्न क्षेत्रमा हासिल गरेका आर्थिक, सामाजिक तथा राजनीतिक उपलब्धिको स्मरण गर्दै महिला सशक्तीकरण, प्रविधिमा पहुँच विस्तार, शिक्षा र आत्मनिर्भरता अभिवृद्धि तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले अन्तरराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ।