अन्तिम चरणमा मतगणना, ४ क्षेत्रको नतिजा बाँकी रहँदा रास्वपाले १२४ सिट सुरक्षित

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने ४ क्षेत्रको मतगणना जारी रहेको छ। मतगणना अन्तिम चरणमा पुगेसँगै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उल्लेखनीय लहर देखिएको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले १२४ सिट जितेको छ। त्यस्तै नेपाली कांग्रेस ले १७ सिट, नेकपा एमाले ले ८ सिट र नेकपा ले ७ सिट हात पारेका छन्।

भदौ महिनामा भएको नवयुवा आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टी ले ३ सिट जित्न सफल भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले १ सिट जितेको छ। एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। मतगणना जारी रहेका क्षेत्रमध्ये गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, इलाम–१ मा कांग्रेसका निश्कल राई तथा सङ्खुवासभा–१ मा एमालेका अर्जुनकुमार कार्की अग्रस्थानमा रहेका छन्। यसैबीच धनुषा–१ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई निर्वाचन आयोगले औपचारिक विवरणमा समावेश नगरेको जनाएको छ।