काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ भने चाँदीको भाउ पनि केही कम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ मा कारोबार भएको सुनको मूल्य सोमबार घटेर ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअनुसार एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो।
त्यसैगरी चाँदीको मूल्यमा पनि सोमबार सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला ५ हजार ४७५ रुपैयाँ मा कारोबार भएको चाँदी सोमबार घटेर ५ हजार ४१० रुपैयाँ मा झरेको महासंघले जनाएको छ। यसरी आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले सुन–चाँदीको मूल्यमा दैनिक रूपमा परिवर्तन हुने गरेको छ।