उम्मेदवारी खारेजीविरुद्ध साह सर्वोच्च पुगे, न्यायाधीश निरौलाको इजलासमा रिट

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज गरिएको विषय सर्वोच्च अदालत पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार किशोरी साह ले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो। उक्त रिट न्यायाधीश नृपध्वज निरौला को एकल इजलासमा सुनुवाइ हुने भएको छ। साहले आफूलाई चुनावी प्रतिस्पर्धाबाट हटाउने आयोगको निर्णय गैरकानुनी भएको दाबी गर्दै आफ्नो उम्मेदवारी कायम गराउन मागसहित आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। निर्वाचन आयोगले भने उनीमाथि कालोसूचीमा रहेको उजुरी परेपछि छानबिन गर्दै उनको उम्मेदवारी खारेज गरेको थियो।

ठेक्कापट्टा व्यवसायबाट राजनीतिमा प्रवेश गरेका साह किशोर कन्स्ट्रक्सन का सञ्चालक हुन्। कर्जा सूचना केन्द्रको वेबसाइटअनुसार उनलाई २०७९ असोज ३१ र २०८० पुस ६ मा कालोसूचीमा राखिएको उल्लेख छ। यही आधारमा आयोगले निर्वाचनको दुई दिनअघि उनको उम्मेदवारी रद्द गरेको जनाएको छ।  धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पल्टन साह र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट मातृका प्रसाद यादव चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा मतगणना भने सम्पन्न भइसकेको छ।

तर, साहको उम्मेदवारीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन आयोगले उक्त क्षेत्रको मतपरिणाम अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन। अदालतको निर्णयपछि मात्र त्यसको अन्तिम नतिजा सार्वजनिक हुने आयोगले जनाएको छ।