काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्री सोमबार आयोजित शपथ ग्रहण कार्यक्रममा समयमै उपस्थित हुन नसकेपछि उनलाई छुट्टै शपथ गराइएको छ।
गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन बाट निर्वाचित १८ जना सदस्यका लागि सोमबार सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो। सोही कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशको महिला क्लष्टरबाट नेकपा एमालेका तर्फबाट निर्वाचित झाँक्री निर्धारित समयमा कार्यक्रममा पुग्न नसकेकी थिइन्। झाँक्रीले ट्राफिक जामका कारण समयमै कार्यक्रममा उपस्थित हुन नसकेको बताएकी छन्। त्यसपछि उनलाई छुट्टै रूपमा पद तथा गोपनीयताको शपथ गराइएको हो।
यसअघि निर्वाचित अन्य १७ जना सदस्यहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल समक्ष सामूहिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्य मनोनित हुन बाँकी रहेको छ।