विराटनगर, फागुन २६ — सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका–४ मा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को ३१ प ३२५५ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो। सो क्रममा मोटरसाइकल चालक इटहरी–१८ का २९ वर्षीय जेम्स राई र पछाडि सवार इटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–४ बाट धरान–२० का ३३ वर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
त्यस्तै झापाको दमकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मे ११ प ६०५० नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–६ का ३२ वर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका चारै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।